हेटौंडा/मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा, १० वटा पालिका, बाग्मती प्रदेश खेलकुद परिषद् तथा स्थानीय संघसंस्थाहरूको सहकार्यमा सातौं सहिद स्मृति स्थानिय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ।
आज मकवानपुर जिल्ला फुटबल सङ्घले पत्रकार सम्मेलनगरी जानकारी दिएको छ ।
गौरिटार रंगशालामा वैशाख १९ गतेदेखि सुरु हुने प्रतियोगितामा देशका प्रमुख विभागीय टिमहरू नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ लगायत मकवानपुर, चितवन, सर्लाही, रौतहट र पर्साबाट महिला टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगिता मकवानपुर जिल्लामा फुटबलको प्रवर्द्धन, स्थानीय खेलाडीहरूको क्षमता प्रदर्शन तथा पर्यटन विकासमा समेत सहयोग पुर्याउने विश्वास आयोजकको छ। अघिल्ला संस्करणहरूमा पुरुष टिमहरूबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक पहिलो पटक महिला फुटबल प्रतियोगिताको आयोजना गरिँदैछ।
आम्दानी तथा खर्च विवरण:
आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, बाग्मती प्रदेश खेलकुद परिषदबाट २० लाख, स्थानीय पालिकाबाट ६ लाख, माननीय इन्द्र बानियाँबाट सर्वोत्कृष्ट खेलाडीका लागि स्कूटरसहित ३ लाख, र विभिन्न संघसंस्थाबाट १ लाख गरी कुल ५१ लाख आम्दानी भएको छ।
यस्तै, पुरस्कारमा १३ लाख, खेलाडी यातायात, खाना, बस भाडा, साउन्ड सिस्टम, प्रचारप्रसार, मेडिकल सेवा, म्याच एन्लाउन्स, अतिथि सत्कार लगायत शीर्षकमा कुल ६१ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
प्रतियोगिताले स्थानीय महिला फुटबल खेलाडीहरूलाई राष्ट्रिय स्तरमा उकास्न मद्दत गर्ने विश्वास लिइएको छ। आयोजक महिला टिम समेत सहभागी हुने यस प्रतियोगिताबाट महिला फुटबलको भविष्य अझ उज्यालो बन्ने अपेक्षा गरिएको छ।







