बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले चितवन जिल्लामा निर्माणाधीन चारवटा तटबन्धन योजनाको अनुगमन गरेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण अन्तिम चरणमा पुगेका योजनाहरुको शनिबार निरीक्षण गरिएको हो। मन्त्री खड्काले राप्ती नगरपालिका–६ स्थित डुङ्ग्रे खोला तटबन्धन, खैरहनी–३ मा लदारी खोला नियन्त्रण, रत्ननगर नगरपालिका–९ को खगेरी खोला संरक्षण कार्य, खैरहनी–१३ को इचनी खोला हुनमान पुल तटबन्धन तथा गौघाटको ढुंगे खोला तटबन्धन क्षेत्रको अवलोकन गरेका हुन्।
त्यसैगरी, मन्त्री खड्काले चितवनमै सञ्चालित खानेपानी आयोजनाहरुको समेत स्थलगत अनुगमन गरे।
अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे। उनले भने, “प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्नेछ, तर काम गुणस्तरीय हुनु आवश्यक छ। बजेटमा कमी हुन दिइने छैन।”
मन्त्री खड्काले चालु वर्षमा सुरु भएका तथा अघिल्ला वर्षका अपूरा योजनालाई रकमान्तर वा आगामी बजेटबाट पूर्ण गरिने प्रतिबद्धता व्यक्त गरे।
अनुगमनमा जलस्रोत तथा सिचाईं विकास डिभिजन कार्यालय चितवनका प्रमुख प्रकाश तिमल्सिना, इञ्जिनियर अच्युतराज पौडेलसहित स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।







