
नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई संसदमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। बैठकपछि मुख्य सचेतक महेश बर्तौलाले बैठकका प्रमुख निष्कर्षहरू सार्वजनिक गरेका छन्।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरूलाई संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न निर्देशन दिएका छन्।
त्यसैगरी, मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सधैं चनाखो रहनु पर्ने र जनसरोकार तथा राष्ट्रिय महत्वका नीतिहरू संसदमार्फत सशक्त रूपमा उठान गर्ने निष्कर्ष निकालिएको छ।
बैठकले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक लगायतका विधेयकहरूलाई गुणस्तरीय कानुनका रूपमा अघि बढाउन छिटो निष्कर्षमा पुर्याउन प्रभावकारी पहलकदमी लिने निर्णय गरेको छ।
त्यसैगरी, संसदमा सत्यलाई असत्यले छोप्ने प्रवृत्तिको विरोध गर्दै संसदीय मूल्य, मान्यता, संस्कृतिलाई संरक्षण गर्दै स्वच्छ, मर्यादित र सिर्जनशील बहसको थलोका रूपमा संसदलाई स्थापित गर्न जिवन्त भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।







