मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यसअघि छैटौँ संस्करणसम्म पुरुष गोल्डकप गर्दै आएको संघले यस वर्षदेखि महिला फुटबललाई प्राथमिकतामा राख्दै प्रतियोगिताको ढाँचा परिवर्तन गरेको हो।
हेटौंडामा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य टीका लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।
उनका अनुसार सातौँ संस्करणबाट प्रतियोगिता पुरुष मात्र नभई महिलाले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून् भन्ने उद्देश्यले महिला गोल्डकप आयोजना गर्न लागिएको हो।
प्रतिस्पर्धी टोलीहरू र पुरस्कार
बैशाख १९ गतेदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोली—एपीएफ, नेपाल पुलिस क्लब, र त्रिभुवन आर्मी फुटबल क्लब—सहित पाँच जिल्ला क्लबहरू—मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा—ले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता संयोजक प्रताव विष्टका अनुसार, प्रायोजक सहयोग अनुसार पुरस्कार राशी थप्न सकिनेछ।
सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ भने हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १० हजार रुपैयाँ दिइनेछ। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव छवि सुवेदीले जानकारी दिए।

लगानी र सहभागिता
प्रतियोगितामा करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति रहेको थियो।







