हेटौंडा/ बागमती प्रदेश सरकारको पूर्वबजेट छलफलमा सहभागी मन्त्री तथा सचिवहरूले बजेट कटौतीप्रति असन्तुष्टि जनाउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निशाना बनाएका छन्। कतिपय मन्त्रीहरूले कविता र गीतमार्फत आफ्नो गुनासो पोखेका थिए।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले चालु आर्थिक वर्ष २०८१/८२ मा प्राप्त बजेटभन्दा आगामी वर्ष २०८२/८३ मा १ अर्ब रुपैयाँले बजेट सिलिङ घटाइएकोप्रति प्रश्न उठाए। पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा बढी काम गर्नुपर्ने मन्त्रालयलाई १ अर्ब ४८ करोडको बजेट अपुग भएको उनले बताए। चालु आवमा मन्त्रालयले २ अर्ब ४० करोड बजेट कार्यान्वयन गरिरहेको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाले टुक्रे योजनालाई व्यवस्थित गरी एक निर्वाचन क्षेत्रमा १०० वटा योजनासम्म कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। चालु आवमा १७ हजार टुक्रे योजना रहेको बताउँदै उनले शिक्षादेखि पर्यटनसम्मका क्षेत्र समेटेर बहुवर्षीय योजना ल्याउनुपर्ने धारणा राखे।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले नारायण गोपालको गीत उद्धृत गर्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे। ६१ करोडको बजेट सिलिङप्रति गुनासो गर्दै उनले “यो बजेट हेर्दा मुटुमाथि ढुंगा राखी हाँस्नु पर्यो जस्तो भयो” भने। उनले २० करोड तलबमा खर्चिने र बाँकी ४१ करोडले खेलकुद क्षेत्र कसरी धान्ने भन्ने प्रश्न गरे।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले कार्यक्रममै कविता वाचन गर्दै बजेट सिलिङमा पुनर्विचार गर्नुपर्ने माग राखे। उनले विपद् व्यवस्थापन र प्रहरी पूर्वाधारका लागि बजेट नपुगेको भन्दै असन्तुष्टि जनाए। बाढीपहिरोबाट ६ हजार घरधुरी प्रभावित भएको उल्लेख गर्दै क्षतिपूर्तिका लागि मात्र २६ करोड आवश्यक पर्ने बताए।

कृषि मन्त्री प्रकाश श्रेष्ठले ५५ अर्बको बजेट सिलिङ अपुग भएको बताउँदै ७० अर्ब पुर्याउनुपर्ने धारणा राखे। वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले जनताको चाहनाअनुसार बजेट बनाइनुपर्ने बताए।

उद्योग वाणिज्य मन्त्री सुकमाया तामाङले उद्योग क्षेत्रबाट ३ अर्ब २६ करोडको राजस्व योगदान हुँदाहुँदै मन्त्रालयलाई ६२ करोडको बजेट सिलिङ अपुग भएको भन्दै चित्त नबुझेको बताइन्। उनले पहुँचका आधारमा बजेट बिनियोजन हुँदा कार्यान्वयनमा समस्या आउने जनाइन्।
आर्थिक मामिला मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ३२.५१ प्रतिशत बजेट मात्र खर्च भएको छ। पुँजीगततर्फ ३७ अर्ब १४ करोड विनियोजनमा २८.२४ प्रतिशत मात्र खर्च भएको छ भने चालू खर्चमा ४०.५१ प्रतिशत खर्च देखिएको छ। गत वर्षको तुलनामा चालु वर्षमा बजेट खर्च २ प्रतिशतले कम भएको छ।

बजेट खर्चको यो दरले सरकारलाई तीन महिनाभित्र ६७ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नु चुनौतीपूर्ण देखिएको छ।
कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको अध्यक्षतामा तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।







