हेटौडा/मनहरी गाउँपालिका–८ का वडा अध्यक्ष नारायण उप्रेतीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सार्वजनिक भएको समाचारको खण्डन गरेका छन्। “७,२०० रुपैयाँ छात्रवृत्तिको विषयमा उठाइएको आरोप पूर्णतः आधारहीन र भ्रामक छ,” उप्रेतीले स्पष्ट पारेका छन्।
उनका अनुसार ‘गरिबसँग बिशेष्वर’ नामक कार्यक्रम आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगका लागि वडा कार्यालयमार्फत सञ्चालन गरिएको हो। आफ्नो छोराको नामसमेत छात्रवृत्तिका लागि परेको जानकारी पाएलगत्तै उनले गाउँपालिका कार्यालयमा नाम हटाउन आग्रह गरेका थिए। “पछिपछि विद्यालयले ‘अशक्त बच्चा’ भनेर पुनः नाम पठाएको रहेछ, तर न उक्त रकम मैले बुझेको छु, न बुझेको छु भन्ने प्रमाण छ,” उनले लेखेका छन्।
अध्यक्ष उप्रेतीले बताउँछन् कि वडा प्रमुख बनेको दिनदेखि नै उनले मनहरी बहुमुखी क्याम्पसमा अध्ययनरत पाँच अति विपन्न विद्यार्थीलाई ३/३ महिनाको दरले कलेजमार्फत १७,२५० रुपैयाँ सहयोग गर्दै आएका छन्। हालसालै, आर्थिक कारणले कलेज जान नपाएकी अरुणी मल्ल ठकुरी नामक छात्रालाई भर्ना शुल्कसहित ८,५०० रुपैयाँ सहयोग गरेको जानकारीसमेत उनले सार्वजनिक गरेका छन्।
उनको पहलमा ऋद्दीशिद्दी सिमेन्ट उद्योगबाट चल्ने टिफरले वडाको बाटो प्रयोग गरेबापत स्कुललाई हरेक वर्ष ४ लाख र क्याम्पसलाई १ लाख रुपैयाँ आर्थिक सहयोग दिलाउन सफल भएको उप्रेतीको दाबी छ। साथै, वडाभित्र रहेका देबकोट विद्यालयका विपन्न विद्यार्थीलाई समेत व्यक्तिगत रूपमा सहयोग गर्दै आएको जानकारी पनि उनले दिएका छन्।
“राती १२ बजे बिरामीको फोन आउँदा समेत सकेसम्म आफैँ र नसके गाडी पठाएर सहयोग गरेको छु,” उप्रेतीले उल्लेख गरेका छन्। कुखुरा, खसीबोका पालन वा क्रसर व्यवसाय गर्नु गैरकानुनी हो भन्ने दाबीको खण्डन गर्दै उनले भने, “राज्यको कानुनमा रहेर गरिने व्यवसायमा प्रश्न उठाउनु अनुचित हो।”
उनले थप प्रश्न गर्दै लेखेका छन्, “१२ पास गरेपछि कान्छो छोराले अमेरिका पढ्न नाम निकालेको कुरालाई पनि आलोचना गर्नु कहाँको न्याय हो? राज्यलाई नियमित कर तिरेर प्रयोग गरिने निजी गाडीप्रति प्रश्न उठाउनु के नागरिक अधिकारको उल्लङ्घन होइन?”
“शिक्षा, स्वास्थ्य, रोजगारी, धर्मस्थललगायत क्षेत्रमा निरन्तर सेवा गर्ने मेरो सोचलाई प्रश्न गर्नेहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँछु,” उप्रेतीले लेखेका छन्। उनले विगतमा तीन पटक नियमित बन समिति अध्यक्षमा जननिर्वाचित भएको अनुभव सुनाउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कपोलकल्पित समाचारप्रति आपत्ति जनाएका छन्।
“तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्नुस्,” अध्यक्ष उप्रेतीले सम्बद्ध सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।




