
हेटौंडा/हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शुक्रबारदेखि सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एन्फा मकवानपुर र छिमेकी जिल्ला चितवनबीच प्रतिस्पर्धा हुनेछ। छैटौं संस्करणसम्म पुरुष गोल्डकपको आयोजना गर्दै आएको संघले यसपटक पहिलोपटक महिलाको संस्करण ल्याएको हो।
प्रतियोगितामा दुई विभागीय टोली – नेपाल पुलिस क्लब र एपीएफ क्लब, एक ए डिभिजन क्लब – संकटा क्लब, तथा पाँच जिल्ला – मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा गरी कुल आठ टोलीको सहभागिता रहेको छ। यसअघि त्रिभुवन आर्मी क्लब सहभागी हुने भनिएपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि संकटा क्लब प्रतिस्पर्धामा सहभागी भएको हो।
मकवानपुरमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले पछिल्लो समय महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएकाले प्रोत्साहनस्वरूप प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित ट्रफीको व्यवस्था गरिएको छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।







