हेटौंडा/राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता–२०८२ हेटौंडामा शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा चितवनले घरेलु टोली मकवानपुरलाई रोमाञ्चक टाइब्रेकरमा ५–४ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेल निर्धारित ९० मिनेटको समय एक–एक गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै चितवनकी अनिता गुरुङले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले फ्री किकबाट आएको बललाई गोलमा परिणत गरेकी थिइन्।
खेलमा नाटकीय मोड तब आयो जब मकवानपुर १० खेलाडीमा सीमित हुन पुग्यो। चितवनकी गोलरक्षक सुजता तामाङमाथि गरिएका गम्भीर फाउलका कारण मकवानपुरकी खुसाना राईले रातो कार्ड देखिन्। संख्यात्मक रुपमा कमजोर बनेको मकवानपुरले पनि संघर्ष छाडेन। खेलको अन्तिम मिनेटमा सजिना स्याङ्तानले उत्कृष्ट गोल गर्दै बराबरी गरेपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा चितवनले संयमित प्रदर्शन गर्दै ५–४ को जित निकाल्यो।
चितवनकी अनिता गुरुङ खेलकी म्यान अफ द म्याच घोषित भइन्। उनले १० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्।
यस प्रतियोगिता मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित हो। अघिल्ला संस्करणमा पुरुष गोल्डकप गरिँदै आएकोमा यसपटक पहिलोपटक महिलामाझ प्रतिस्पर्धा आयोजना गरिएको हो। प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ, ए डिभिजन क्लब संकटा, तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा गरी आठ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीले पनि नगद र ट्रफी प्राप्त गर्नेछन्।
करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी र कैलाश गाउँपालिकालगायत विभिन्न संघसंस्थाको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको हो।
शुक्रबार उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
शनिबारको खेलमा बाराको नवजनजागृति क्लब, सिमरा र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।







