हेटौडा /कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले भरतपुर महानगरपालिका अन्तर्गत रहेको फलफुल तथा तरकारी थोक बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको छड्के अनुगमन गर्नुभएको छ।

आइतबार गरिएको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले प्रयोगशालाको प्रत्यक्ष निरीक्षण गर्नुका साथै बोडी र गोलभेडाको ल्याब टेस्ट गराउन निर्देशन दिनुभएको थियो। परीक्षणमा ती तरकारीहरूमा न्यून मात्रामा विषादी फेला परेको जनाइएको छ।
काठमाडौँ उपत्यका बाहेक यस्तो प्रकारको विषादी परीक्षण प्रयोगशाला चितवनमै मात्र रहेको हो। प्रयोगशालाबाट दैनिक रुपमा नमुनाहरू परीक्षण गरी त्यसपछि मात्र बजारमा पठाइने व्यवस्था गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले जानकारी दिनुभयो।

अनुगमनकै क्रममा मन्त्री श्रेष्ठले थोक बजारका व्यवसायीहरूसँग भेटघाट गर्दै वर्तमान तरकारीको आपूर्ति र मूल्य अवस्थाबारे जानकारी लिनुभयो। थोक बजारका अध्यक्ष शालिकरम घिमिरे अहिले गोलभेडा र गाजरको भाउमा गिरावट आएको जानकारी गराउनुभयो।
व्यवसायीहरूले फलफुल तथा तरकारी लामो समयसम्म कसरी संरक्षण गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। त्यसको जवाफमा मन्त्री श्रेष्ठले मन्त्रालयबाट सम्भव सहयोग गर्न तयार रहेको बताउँदै, “यदि आवश्यक परे गोलभेडाबाट अचार उत्पादन गर्ने कार्यक्रममार्फत पनि सहायता गर्न सकिन्छ,” भन्ने प्रतिबद्धता जनाउनुभयो।

यस अनुगमनबाट तरकारी बजारको सुरक्षा, विषादी नियन्त्रण र बजार व्यवस्थापनतर्फ सरकारको सक्रियता देखेको एक व्यवसायीले बताए।








