हेटौंडा/ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले स्वदेशमै स्वरोजगार र उद्यमशीलताको सम्भावना रहेको उल्लेख गर्दै ३० दिने स्वदेशी हातेकागज उत्पादन तालिमको उद्घाटन गर्नुभएको छ।
उक्त तालिम बागमती प्रदेश सरकार अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरको आयोजनामा सञ्चालनमा ल्याइएको हो।
मन्त्री श्रेष्ठले तालिमको औपचारिक उद्घाटन गर्दै भने, “यो तालिम देखावटी प्रमाणपत्रका लागि होइन, उद्यमशील युवा उत्पादन गर्ने कार्यथलो हो। प्रशिक्षार्थीले तालिमपछि घरमै बसेर १ लाखदेखि डेढ लाखसम्म आम्दानी गर्न सक्नेछन्।”

उहाँले तालिमपछि पालिकाले व्यवसाय थालनीका लागि सहुलियत ऋण, बैंक ब्याज तिर्ने, बिमा गरिदिने र बजार व्यवस्थापनमा पनि साथ दिने प्रतिवद्धता जनाएको जानकारी दिनुभयो। “अब विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा उद्यम सुरु गर्न सकिन्छ,” मन्त्री श्रेष्ठको भनाइ थियो।
तालिममा केरा खेती, हातेकागज उत्पादन, र अन्य नगदेबालीको सम्भावना समेटिएको छ। लागू औषधको वैकल्पिक रूपमा नगदेबाली र फोहोर बोटबिरुवाबाट कागज उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बिना तालिम सञ्चालन गरिएका उद्योगहरू प्रायः असफल हुने भन्दै तालिम, रोजगारी र उत्पादनलाई एकसाथ अघि बढाउने ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानसँग जोडिएको बताए।
गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले तालिमले विशेषगरी चेपाङ बस्ती तथा अन्य जोखिममा परेका समुदायलाई लक्षित गरी स्वरोजगारको अवसर सिर्जना गर्ने बताए। “अब करको डरले लागू औषध खेती होइन, आम्दानी दिने केरा खेती र कागज उत्पादन जस्ता वैकल्पिक उद्योगतर्फ मोडिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले घट्दो बजेट र नीति निर्माणको कमजोरीका कारण केही समस्या भए पनि पालिकाले तालिमपछि व्यवसाय गर्न चाहनेलाई बैंक ब्याज, बीमा तथा बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रम जिल्ला लघु उद्यमी संघका अध्यक्ष दिपेन्द्र रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य कार्यालयका प्रतिनिधिको समेत उपस्थिति थियो।







