हेटौंडा/ एपिएफ क्लबले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा एकतर्फी प्रदर्शन गर्दै वीरगंज युथ स्पोर्ट्स एकेडेमीमाथि १२–० को विशाल जित निकालेको छ।
सोमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपिएफले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गर्दै सहज जित हासिल गर्यो। एपिएफको जितमा रश्मि कुमारी घिसिङले ५ गोल गर्दै नायिकाको भूमिका निर्वाह गरिन्।
रश्मिले खेलको २३औं, ४९औं र ६९औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् भने ७०औं र ७८औं मिनेटमा थप दुई गोल गरिन्। उनको यो प्रदर्शनले गोल्डकप प्रतियोगितामा व्यक्तिगत रूपमा ५ गोल गर्ने ममता पुनको कीर्तिमानसँग बराबरी गरेको छ।
खेलको १९औं मिनेटमा सरु लिम्बुले पहिलो गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, २५औं मिनेटमा अनिता केसी, ३५औं मिनेटमा पुनः सरु लिम्बु, ३९औं मिनेटमा अनिता बस्नेत, ४५औं मिनेटमा मञ्जली योञ्जन, ५१औं मिनेटमा सजनी थोकर र ७३औं मिनेटमा सविता रानाले गोल गर्दै जित सुनिश्चित गरे।
रश्मि कुमारी घिसिङ खेलकी म्यान अफ द म्याच घोषित भइन् र उनले पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरिन्।

एपिएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको अन्तिम चारको समीकरण पूरा भएको छ। मंगलबार एपिएफले संकटासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सिमराको नवजनजागृतीलाई ६–१ ले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
मंगलबार बिहान ८:३० बजे पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबारका लागि तय गरिएको छ। विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।







