हेटौंडा/ हेटौंडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गर्न सफल भएको छ।
हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन फुटबल संघलाई ७–० को विशाल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेलमा पुलिसका तर्फबाट मीना देउवा र निर्मा उपाध्यायले समान तीन–तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। देउवाले खेलको २१औं, ४०औं र ५९औं मिनेटमा गोल गरिन् भने उपाध्यायले ३४औं, ६६औं र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई सशक्त बनाइन्। त्यसबाहेक, सुश्मा तामाङले पहिलो हाफको अन्त्यतिर ४५औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरिन्।
उत्कृष्ट प्रदर्शन गरेकी मीना देउवा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

अब पुलिस क्लबले उपाधिका लागि बिहीबार दोस्रो सेमिफाइनल खेलको विजेता—एपीएफ क्लब वा संकटा क्लबमध्ये एकसँग भिड्नेछ। एपीएफ र संकटा बीचको खेल मङ्गलबार हुनेछ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ।







