हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी आइतबारदेखि सुरु हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश युवा परिषद्को आयोजनामा हुन गइरहेको उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ।
शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै परिषद्ले सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने बताएको छ। साथै, डिजिटल माध्यममार्फत लाखौं युवालाई समेट्ने तयारीसमेत रहेको जनाएको छ।
परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलन युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र नीति संवादको महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको जानकारी दिए। “सरकार र युवाबीचको दूरी घटाउने र युवा सहभागितामूलक शासनको अभ्यास गर्ने यो सम्मेलन एउटा कोसेढुङ्गा हुनेछ,” चौलागाईंले भने।
उनका अनुसार बागमती सरकारले सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रममा समेटी बजेट विनियोजन गर्दै आएको छ। प्रदेश युवा परिषद्को तथ्याङ्कअनुसार अघिल्ला दुई आर्थिक वर्षमा १० हजार ५ सयभन्दा बढी युवाले विभिन्न सीप तालिम प्राप्त गरेका छन् भने चार सय ५ जना युवाले आफ्नै उद्यम सुरु गरिसकेका छन्।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा सहभागिता, डिजिटल सुशासन, शिक्षा, सीप र सिर्जनशीलता, जलवायु परिवर्तन, नीति निर्माणमा युवा भूमिका लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना गरिनेछ।
साथै, सम्मेलनमा युवा उद्यमीहरुको प्रदर्शनी, सीप तालिम प्राप्त युवाको अनुभव साझा, प्रेरणादायी कथाहरू, अन्तरप्रदेशीय युवा संवाद, चुरियामाई सुरुङमार्गको अवलोकन भ्रमण, हाइकिङ, कला र प्रतिभा प्रदर्शनी जस्ता कार्यक्रमसमेत समावेश गरिनेछ।
परिषद्ले २०७८ मा गरेको सर्वेक्षणमा युवाले नीति संवादको प्लेटफर्मको आवश्यकता महसुस गरेका थिए, जसको आधारमा यस्ता सम्मेलनको अवधारणा ल्याइएको हो।
सम्मेलनको अन्त्यमा ‘सम्मेलन घोषणापत्र’ सार्वजनिक गरिने परिषद्ले जनाएको छ।
युवाको नीति संवाद र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित यो सम्मेलन बागमती प्रदेशको युवा विकास यात्रामा एक महत्वपूर्ण पाइला सावित हुने विश्वास लिइएको छ।







