हेटौडा/बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उभौली पर्व र बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।
प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै सन्देश जारी गर्दै सम्पूर्ण प्रदेशवासी तथा देश-विदेशमा रहनुभएका नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो।
उभौली पर्वका सन्दर्भमा उहाँले भन्नुभएको छ,”प्रकृतिका पुजारी किराँत समुदाय अन्तर्गतका सुनुवार, राई, लिम्बु र याक्खा जातिको पवित्र पर्व उभौलीको अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा विदेशमा रहनुभएका नेपालीहरू, विशेष गरी किराँत समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।”
उभौली पर्व कृषि चक्रसँग जोडिएको पर्व हो जसमा कृषिका लागि राम्रो उत्पादन होस्, दैवीप्रकोपबाट मुक्ति मिलोस् र सबैमा सुस्वास्थ्य र शान्ति रहोस् भन्ने कामनासहित पूजा गरिन्छ।
सन्देशमा प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभयो,”उभौली पर्वले केवल मौसमको परिवर्तन र लेकतिरको यात्रा जनाउँदैन, यो पुर्खाप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको गहिरो सन्देश बोकेको पर्व हो।”
उहाँले यस पर्वलाई किरात समुदायको सांस्कृतिक पहिचान, मेलमिलाप, चाडपर्वप्रतिको निष्ठा र सहअस्तित्वको प्रतीकको रूपमा व्याख्या गर्नुभएको छ। आफन्त भेटघाट, नाचगान, खानपान र शुभकामना आदानप्रदान गरेर यो पर्व उल्लासपूर्वक मनाइने उल्लेख गर्दै, उहाँले मौलिक संस्कृति र चाडपर्वहरूको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ।
त्यसैगरी, बुद्ध जयन्तीको अवसरमा पनि प्रदेश प्रमुखले विशेष सन्देश दिँदै भगवान बुद्धको शिक्षालाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभएको छ,”शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस बैशाख पूर्णिमाको दिन विश्वभर पूजाआजा, ध्यान र प्रवचन गरी मनाइन्छ।” बुद्धले दिनुभएको अहिंसा, करुणा र समताको सन्देश आजको अशान्त विश्वमा झन् सान्दर्भिक भएको उल्लेख गर्दै देवकोटाले थप भन्नुभयो,
“बुद्धको शिक्षाबाट प्रेरित हुँदै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा हामी सबै एकजुट होऔँ भन्ने कामना गर्दछु।”
युद्ध, द्वन्द्व र हतियार होडको विश्व परिवेशमा बुद्धमार्गले शान्ति, संयम र सदाचारको बाटो देखाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।








