हेटौँडा/हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले आफ्नो वडालाई विकासका सबै क्षेत्रमा नमुना र अग्रणी बनाउने अभियानमा जुटिरहेको बताएका छन्।
वडा कार्यालयले सञ्चालन गरेका कार्यक्रमको समीक्षा र आगामी योजना निर्माणका लागि आयोजित सुझाव संकलन भेलामा अध्यक्ष सिग्देलले शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनजस्ता बहुआयामिक क्षेत्रमा केन्द्रित रहेर वडाको समग्र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष सिग्देलले टोलबासीले दिएका सुझावलाई भावी योजनामा समेट्दै प्राथमिकताका आधारमा समस्या समाधान गरिने जनाउँदै आफ्नो कार्ययोजनामा नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्ने स्पष्ट पारे।

हेटौँडा र बागमती प्रदेशको राजधानी क्षेत्रको बीच भागमा अवस्थित, जनसंख्या घनत्व उच्च रहेको वडा भएकाले सफा, उज्यालो, हरियाली तथा सुरक्षित वडाको परिकल्पना साकार पार्ने दिशामा कार्य भइरहेको उनले बताए। भेलामा टोल विकास संस्था, विभिन्न सामाजिक संस्था तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तीन चरणमा सम्पन्न २६ वटा टोल विकास संस्थाको भेलाको अध्यक्षता वडा सदस्य गीता त्रिपाठीले गरेकी थिइन्। भेलामा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकोटी, वडा सचिव रामप्रसाद गुरागाईं, श्रमिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की तथा शैक्षिक सुधार गुणस्तर समितिका संयोजक श्रीराम दाहाललगायतको उपस्थिति रहेको थियो।







