हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशी उत्पादन र बन्द रहेका उद्योगहरूलाई पुनर्जीवन दिनुपर्नेमा जोड दिनुभएको छ। हेटौंडामा आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा बोल्दै उहाँले हेटौंडा सिमेन्ट र कपडा उद्योगजस्ता बन्द उद्योगहरूको स्वामित्व प्रदेश सरकारले पाएमा ती उद्योगहरू नाफामा लैजान सकिने दाबी गर्नुभयो।
मुख्यमन्त्री लामाले केन्द्र सरकारसँग उद्योगहरूको स्वामित्व हस्तान्तरणको माग गरे पनि केन्द्रिकृत सोचले त्यो सम्भव नभएको गुनासो गर्नुभयो। “हेटौंडा सिमेन्ट मलाई दिनुस्, दुई वर्षभित्र नाफामा पुर्याएर देखाइदिन्छु भनेको, तर दिनै चाहेनन्,” उहाँले भन्नुभयो, “प्रत्येक वर्ष नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी दिन्छौँ।”
उहाँले स्थानीय स्रोतसाधन र जनशक्तिको प्रयोगमार्फत बन्द उद्योगलाई पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। साथै, बागमती प्रदेशले आफ्नै उत्पादनलाई प्राथमिकता दिने नीति लिएको र निजी क्षेत्रभन्दा सरकारी उद्योगलाई बढी प्राथमिकता दिने धारणा राख्नुभयो।
युवाहरूले घरेलु मदिरालाई ब्रान्ड बनाएर बजारमा उतार्न सकिने सुझाव राख्दा मुख्यमन्त्री लामाले यस विषयमा कानुनी पक्ष र दीर्घ प्रभावलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताउँदै सरकार स्वदेशी उत्पादनलाई ब्रान्ड गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा युवा पलायन रोक्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाइरहेको जानकारी दिँदै मुख्यमन्त्री लामाले विज्ञान, प्रविधि र कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न विभिन्न नीति तथा कार्यक्रम अगाडि सारिएको बताउनुभयो। तालिम प्राप्त युवालाई उद्यमशील बनाउन बीउ पुँजीको समेत व्यवस्था गरिएको उल्लेख गर्दै, बजेट अभावले केही कार्यक्रम अघि बढ्न नसकेको स्वीकार गर्नुभयो।
उहाँले युवाहरूलाई धैर्य गर्न आग्रह गर्दै सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा अग्रसर हुन सुझाव दिनुभयो। कार्यक्रमको सहजीकरण अग्रज सञ्चारकर्मी रुपेश श्रेष्ठले गर्नुभएको थियो।







