मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दा खहरेमा निर्माण सम्पन्न बोरिङ सिँचाई आयोजनाको औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सम्पन्न उक्त आयोजनाको उद्घाटन नेपाली कांग्रेसकी सह–महामन्त्री तथा पूर्व जलश्रोत तथा सिँचाई राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले संयुक्त रूपमा गर्नुभएको हो।
जम्मा ३६ लाख रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट करिब १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पु¥याइने आयोजनाले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै सह–महामन्त्री उपाध्यायले जल र मलको उचित संयोजनले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने बताउनुभयो। उहाँले रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जैविक मलको प्रयोगमा जोड दिनुभयो। साथै, स्थानीय सरकारले जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ८ अर्ब रुपैयाँ जैविक मल प्रोत्साहनका लागि विनियोजन गर्न लागेको जानकारी पनि दिनुभयो।
त्यसैगरी, मन्त्री खड्काले कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमै रोजगारी सिर्जना गर्न कृषि उत्पादनशीलता बढाउनु पर्ने धारणा राख्नुभयो। उहाँले मल, बीउ, सिँचाई र जलको व्यवस्थापन गरी बागमती प्रदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो। मन्त्री खड्काले तीन तहका सरकारबीच समन्वय गरी विकास निर्माणका कामहरूलाई अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, उहाँले बेतेनीदेखि रक्सिराङ क्षेत्रसम्म अझै पनि खानेपानीको चरम अभाव रहेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिहरू जनताको हितका लागि पार्टी भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्नुभयो।
मन्त्री खड्काले भूगर्भ जल स्रोतको संरक्षणका लागि ग्राउन्ड रिचार्ज प्रणाली आवश्यक रहेको पनि औँल्याउनुभयो।
यस सिँचाई आयोजनाबाट सिँचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू उत्साहित भएका छन्। वर्षभरि आकाशे पानीमा भर परेर एकबाली खेती गर्दै आएका किसानहरूले अब बारम्बार बाली गर्न सक्ने सम्भावना देखेका छन्।
भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीका अनुसार १० हर्सपावर क्षमताको पम्पमार्फत प्रतिसेकेन्ड ८ लिटर पानी प्रवाह गर्न सकिने क्षमता आयोजनामा रहेको छ।
सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस नेता आनन्दराम पराजुली, पूर्व पालिकाध्यक्ष दामोदर गौतमलगायत विभिन्न जनप्रतिनिधि तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।







