हेटौंडा/बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले पहिलोपटक प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट आयोजना गर्न लागेको छ।
मन्त्रालयले बिहीवार हेटौंडामा पत्रकार सम्मेलन गरी आउँदो आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा रहनेछन् भने युथ समिट भने केही सातापछि आयोजना गरिने मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार कार्यक्रमको उद्देश्य प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारको सम्मान गर्नु हो। “खेलाडीको विदेश पलायन रोक्न र उनीहरूलाई प्रोत्साहन दिन प्रदेश सरकार सक्रिय छ,” उनले भने।
मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालले ८ विधामा १२ जनालाई अवार्ड प्रदान गरिने जानकारी दिए। ती विधाहरूमा उत्कृष्ट महिला र पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी र उत्कृष्ट खेल पत्रकार समावेश छन्।
उत्कृष्ट महिला/पुरुष खेलाडी, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट तथा खेलकुदको शान विधाका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ।
अवार्ड छनोटका लागि दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ। चयनमा व्यक्तिको विगतको योगदान, हालको उपलब्धि, समाजमा पारेको प्रभाव र नयाँ पुस्तामा पार्ने प्रेरणा आधार मानिने मन्त्रालयले स्पष्ट पारेको छ।







