हेटौंडा/ हेटौंडा इन्फिल्डर्स मकवानपुरको आयोजनामा “डिस्टिङ्गुइश्ड जेन्टलम्यान्स राइड २०२५” सम्पन्न भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले कार्यक्रमको उद्घाटन गरेका थिए।

संस्थाका अध्यक्ष राजक शाहीका अनुसार राइडको सुरु हेटौंडाको मनकामना चोकबाट गरिएको थियो, जसमा करिब १०० भन्दा बढी मोटरसाइकल यात्रुहरू सहभागी भएका थिए। क्लासिक तथा भिन्टेज शैलीका कैफे रेसर, स्क्राम्बलर, बॉबर, रेट्रो मोडर्न मोटरसाइकलमा सहभागीहरू सुट–टाई, बाउलर ह्याटलगायत ड्यापर फेसनमा सजिएर उपस्थित भएका थिए।

यो राइड विश्वव्यापी रूपमा आयोजना हुने कार्यक्रमको एक हिस्सा हो, जसको मुख्य उद्देश्य प्रोस्टेट क्यान्सर तथा पुरुष मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउनु हो। हेटौंडामा दोस्रोपटक आयोजना गरिएको यस राइडले मोटरसाइकलप्रेमी, फेसन उत्साही र सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिहरूलाई एक ठाउँमा ल्याएको आयोजकहरूले बताएका छन्।

काठमाडौं लगायत देशका अन्य सहरहरूमा पनि सञ्चालन हुँदै आएको यो अभियानले स्वास्थ्य र सामाजिक सचेतनाका लागि महत्वपूर्ण सन्देश दिन सफल भएको आयोजकहरूको भनाइ छ।








