हेटौंडा/केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा तथा मकवानपुर जिल्ला भलिबल संघको सहआयोजनामा पालिकास्तरीय महिला भलिबल प्रतियोगिता आइतबारदेखि हेटौंडामा सुरु भएको छ।
महिला भलिबल खेलाडीको पहिचान र खेल क्षेत्रको विकासलाई लक्ष्य गरेर सुरु गरिएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरे। उनले आफ्नो कार्यकालभर प्रतियोगिताका लागि निरन्तर बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रतियोगिताबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता रहेको थियो भने राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत भलिबलका प्रमुख प्रशिक्षक जगदिश भट्ट, नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र घिमिरेलगायतले मन्तव्य राखेका थिए।
प्रतियोगिताको पहिलो दिन तीन वटा खेल सम्पन्न भएका छन्। लिगकम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया र भीमफेदी गाउँपालिकाले विजयी सुरुआत गरेका छन्।
पहिलो खेलमा बकैया गाउँपालिकाले बागमती गाउँपालिकालाई २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्यो। दोस्रो खेलमा भीमफेदीले मकवानपुरगढीलाई २५–१५ र २५–१८ को सेटमा हरायो। तेस्रो खेलमा हेटौंडाले ईन्द्रसरोवरलाई २५–१७ र २५–९ ले पराजित गरे भने चौथो खेलमा थाहा नगरपालिकाले भीमफेदीलाई २५–१४ र २५–२१ को सेटमा पराजित गर्यो।
प्रतियोगिता जेठ ६ गतेसम्म सञ्चालन हुनेछ। मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक टिमले जिल्ला बाहिरका दुई खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ८० हजार, र सेमिफाइनल पुग्ने दुई टिमले जनही ३० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीले नगद ७ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले जनही ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।







