हेटौंडा/हेटौंडामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगितामा आइतबार हेटौंडा–३ र हेटौंडा–९ विजयी भएका छन्।
हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रि–क्वार्टरफाइनल चरणको पहिलो खेलमा हेटौंडा–३ ले हेटौंडा–१३ लाई ३–१ गोलअन्तरले पराजित गर्यो। खेलको ८औं मिनेटमै निराजन घलानले गोल गर्दै हेटौंडा–३ लाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ४४औं मिनेटमा कप्तान विजय दोङले थप गोल गरेपछि अग्रता २–० मा पुगेको थियो। हेटौंडा–१३ का विशेष थिङ्गले ४५औं मिनेटमा गोल गर्दै टोलीलाई फर्काउने कोशिस गरे पनि हेटौंडा–३ का निरभ घलानले अन्तिम गोल गर्दै खेल ३–१ मा टुंग्याए।
दोस्रो खेल हेटौंडा–९ र हेटौंडा–१६ बीच प्रतिस्पर्धात्मक रह्यो। निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा हेटौंडा–९ ले ४–२ को नतिजा निकाल्दै जित दर्ता गर्यो।
पहिलो खेलमा हेटौंडा–३ का विजय दोङ र दोस्रो खेलमा हेटौंडा–९ का गोलरक्षक मन्दीप घलान म्यान अफ द म्याच घोषित भए। उनीहरूले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
उपमहानगरपालिकाको सहयोगमा सञ्चालनमा आएको प्रतियोगिताको विजेता टिमले २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। यस्तै, उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।





