हेटौंडा/बागमती प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको ‘बागमती प्रदेश स्पोर्ट्स अवार्ड’ आइतबार साँझ हेटौंडाको हुप्रचौरमा सम्पन्न भएको छ। खेल क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न १२ जनालाई नगदसहित सम्मान प्रदान गरिएको छ।
खेलाडीको हौसला वृद्धि र कदरका लागि आयोजना गरिएको कार्यक्रममा खोखोका राजन बललाई उत्कृष्ट पुरुष खेलाडी र करातेकी एरिका गुरुङलाई उत्कृष्ट महिला खेलाडीको रूपमा सम्मान गरिएको हो। दुबै जनालाई जनही एक लाख रुपैयाँ, अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा एथ्लेटिक्स खेलाडी जीतबहादुर केसी र बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी उत्कृष्ट प्रशिक्षकको रूपमा चयन हुँदा पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकार घोषित भए।
त्यस्तै, फुटबल खेलाडी आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई लोकप्रिय खेलाडीको रूपमा सम्मान गरियो। बागमतीको सानको उपाधि तेक्वान्दोकी संगीता वैद्यलाई प्रदान गरियो भने पारा तेक्वान्दोकी पलेसा गोवर्द्धन उत्कृष्ट पारा खेलाडी घोषित भइन्।
गल्फ खेलाडी सद्भाव आचार्य युवा खेलाडीको रूपमा सम्मानित भए भने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला अध्यक्ष घोषित भए।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसहित मन्त्रीहरुद्वारा सम्मानित व्यक्तिहरूलाई अवार्ड, नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो।
मुख्यमन्त्री लामाले कार्यक्रममा बोल्दै, “यस्ता सम्मानले खेलाडीको मनोबल उच्च बनाउँछ र खेल क्षेत्रमा लाग्न चाहनेलाई प्रोत्साहन दिन्छ,” भन्दै स्पोर्ट्स अवार्डलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
अवार्ड छनोटका लागि अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको थियो। कार्यक्रममा विविध सांगीतिक प्रस्तुतिहरूले पनि रौनक थपेका थिए।







