मकवानपुर/हेटौंडा उपमहानगरपालिका–१६, १७ र १८ नम्बर वडालाई बुधबार लम्पी स्किन रोगविरुद्धको खोप हस्तान्तरण गरिएको छ। पशु सेवा कार्यालय हेटौंडाको आयोजनामा र उपमहानगरपालिकाको समन्वयमा तीन वडालाई संयुक्त रूपमा खोप वितरण गरिएको हो।

पशु सेवा कार्यालयका प्रमुख बज्र किशोर ठाकुरले हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, १७ का वडाध्यक्ष उद्धव सत्याल र १८ का कार्यवाहक वडाध्यक्ष योगराज खतिवडालाई खोप हस्तान्तरण गरेका हुन्।
लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिएको निःशुल्क खोप अभियान अन्तर्गत वडा–१७ मा २ हजार डोज, वडा–१६ र १८ मा १–१ हजार डोज खोप वितरण गरिएको छ। अझै १ हजार डोज खोप स्टकमा रहेको र आवश्यकतानुसार थप पठाइने पशु सेवा कार्यालयका डाक्टर मदन भण्डारीले जानकारी दिए।

खोप हस्तान्तरण कार्यक्रममा बोल्दै वडा–१६ का वडाध्यक्ष कोइरालाले किसानलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे। पशुपालन धेरै भएको क्षेत्र भएकाले रोग फैलिनु अगावै खोप लगाउन सके क्षति न्यून हुने उनले बताए।
पशु सेवा कार्यालय प्रमुख ठाकुरले विगतमा लम्पी स्किनका कारण किसानले ठूलो क्षति भोग्नुपरेको स्मरण गराउँदै, समयमै खोप लगाएर रोग नियन्त्रण गर्नुपर्ने बताए। खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक जनशक्ति खटाइने पनि उनले स्पष्ट पारे।

कार्यक्रममा पशु सेवा कार्यालयका डा. विजय पौडेलले लम्पी स्किन रोगबारे प्राविधिक जानकारी गराउँदै भने, “यो रोग भाइरसबाट सर्ने भएकाले उपचार नभए पनि खोपबाट यसको रोकथाम सम्भव छ।” रोग लागेमा ज्वरो घटाउने, चिलाउने कम गर्ने, घाउ सुकाउने तथा झिँगाबाट जोगाउने उपाय अपनाउनु पर्ने उनले बताए।





