हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौं हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा सोमबार सम्पन्न क्वार्टरफाइनल खेलहरूबाट वडा नं ७ र वडा नं ११ सेमिफाइनलमा प्रवेश गरेका छन्।
पहिलो क्वार्टरफाइनल खेलमा वडा नं ११ ले वडा नं १ लाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलमा वडा नं ११ का रोमन श्रेष्ठले दुई गोल गर्दै टोलीलाई जित दिलाएका थिए। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको म्यान अफ द म्याच घोषित भए र नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
यता पराजित वडा नं १ ले भने वडा नं ११ ले खेलमा नियम विपरीत अन्य वडाको खेलाडी प्रयोग गरेको आरोप लगाउँदै प्रतियोगिता आयोजक समितिमा उजुरी दिएको छ। समितिका सदस्य यज्ञबहादुर राईका अनुसार उजुरीमाथि मंगलबार सुनुवाइ हुने छ।
सोमबारकै दोस्रो क्वार्टरफाइनल खेलमा वडा नं ७ ले वडा नं १८ लाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। प्रतिस्पर्धात्मक खेलमा वडा नं ७ का सुजन लामाले निर्णायक गोल गरे। उत्कृष्ट खेल प्रदर्शनका लागि उनी पनि खेलको म्यान अफ द म्याच घोषित भए र नगद २ हजार रुपैयाँसहित ट्रफी हात पारे।
प्रतियोगिताअन्तर्गत मंगलबार दुईवटा सेमिफाइनल खेलहरू हुने आयोजक समिति अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो। विजेता टिमले उपाधिसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछ। फाइनल खेल जेठ १५ गतेका दिन हुने तय भएको छ।







