बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा आयोजित बागमती प्रदेश स्तरीय नमूना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत मकवानपुरका रिजन जि.सी. युवा मुख्यमन्त्री चयन भएका छन्।
जेठ ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको चारदिने कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना भन्दा बढी युवाको सहभागिता रहेको थियो।
यस अभ्यास संसदको मुख्य उद्देश्य युवामा नेतृत्व र क्षमता विकास गर्दै उनीहरूलाई राज्य र राजनीतिक प्रक्रियामा जोड्नु हो। कार्यक्रममा संसदमा विधेयक निर्माण, नीति तथा कार्यक्रम, बजेट निर्माण र पारित प्रक्रियाको व्यावहारिक ज्ञान दिइएको थियो। परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, देशको करिब ४३.५६ प्रतिशत जनसंख्या युवाहरु रहेको सन्दर्भमा युवाको नेतृत्वमा देश निर्माण गर्नुपर्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको दोस्रो दिन सम्पन्न युवा संसदको चुनावमा विभिन्न मन्त्रालयको जिम्मेवारी विभिन्न जिल्लाका युवाहरूले पाएका थिए। जसअनुसार मकवानपुरका रिजन जि.सी. मुख्यमन्त्री, काभ्रेपलाञ्चोककी विषय पौडेल सभामुख, नुवाकोटका महेन्द्र तामाङ उपसभामुख, चितवनकी पुनम गौतम प्रदेश प्रमुख चयन भएका छन्।
त्यस्तै, सिन्धुलीका शेषकान्त दाहाल अर्थ तथा योजना मन्त्री, नुवाकोटका सुमन शाक्य कृषि, पशुपन्छी विकास, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, काठमाडौँकी अस्मि डंगोल आन्तरिक मामिला तथा कानून मन्त्री, रामेछापका सनिश नेपाली भौतिक पूर्वाधार मन्त्री, दोलखाकी आशा कोईराला युवा, खेलकुद, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री र दोलखाकी सम्पूर्ण खत्री श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन्।
कार्यक्रममा सहभागी युवाहरुले वास्तविक संसदको अभ्यासमार्फत नेतृत्व क्षमता अभिवृद्धि गर्ने अवसर पाएका थिए।







