हेटौंडा/ “दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं” भन्ने मूल नारासहित हेटौंडामा २५औं विश्व दूध दिवस उत्सवपूर्वक मनाइएको छ। उक्त दिवस राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा विविध कार्यक्रमसहित सम्पन्न भएको हो।

आईतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडाको चौकीटोलस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रांगणबाट सुरु भएको प्रभातफेरी ¥याली रोयल प्यालेसमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै सबै पक्ष मिलेर इमान्दारीपूर्वक समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, पशु सेवा विभागका महानिर्देशक डा. रामानन्द तिवारी, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवर, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेललगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न विधामा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो। रूपन्देहीका यज्ञमूर्ति खनाल उत्कृष्ट कृषकको रूपमा सम्मानित भए। उनले १५० भन्दा बढी गाईपालन गर्दै दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन र बिक्री गर्दै आएका छन्।
त्यस्तै, भवानी दुग्ध उत्पादक सहकारी संस्था र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई पनि उत्कृष्ट संस्थाका रूपमा सम्मानित गरिएको छ।

दुग्ध उद्योगतर्फ नेपाल कृषि तथा दुग्ध विकास केन्द्र झापाका हेमचन्द्र खनाल, मोर्डन डेरी भक्तपुरका रामप्रसाद त्यात, अनमोल डेरी इलामका गोविन्द खड्कालाई योगदानका लागि सम्मान प्रदान गरिएको थियो।
सञ्चारकर्मी सम्मान अन्तर्गत टक्सार म्यागजिनका पत्रकार रवि थापा र डेरी विज्ञ मदन मोहन दासलाई विशेष सम्मान गरिएको थियो। साथै, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) को पहलमा सन् २००१ देखि हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाउन थालिएको हो। नेपालमा भने सन् २०११ देखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।
विश्व दूध दिवस २०२५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डसँगै पशु सेवा विभाग, प्रदेश दुग्ध विकास बोर्ड (बागमती प्रदेश), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साइन्स एसोसिएसनको सहकार्यमा भव्य रूपमा सम्पन्न गरिएको हो।





