हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएको बजेट प्रस्तुत गरेको छ। शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्दै विभिन्न मन्त्रालयका लागि बजेट विवरण सार्वजनिक गरे।
जसमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिँदै प्रदेश सरकारले विभिन्न महत्त्वपूर्ण कार्यक्रम अघि सारेको छ। सार्वजनिक–निजी–साझेदारी (PPP) मोडलमा कृषि उपज बजार केन्द्र र आधुनिक बधशाला निर्माण गरिनेछ।
१६ वटा स्थानीय तहमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरी खाद्य स्वच्छता प्रवर्द्धन गरिनेछ। उत्पादन र प्रशोधनतर्फ ‘एक जिल्ला, एक कृषि उत्पादन’ कार्यक्रमलाई अघि बढाउँदै चितवनमा गोलभेँडा र दोलखामा किवी प्रशोधन केन्द्र स्थापना गरिनेछ।
दूध उत्पादनमा प्रतिलिटर अनुदान, सहुलियत ऋणको व्यवस्था
उत्पादनमा आधारित दूधमा प्रतिलिटर अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। साथै, निक्षेप तथा कर्जा सुरक्षण कोषसँगको साझेदारीमा किसानहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ।
हेटौंडामा दुग्धजन्य पदार्थ उत्पादन कारखाना र विभिन्न स्थानमा शीत भण्डार सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको छ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट २ अर्ब ६३ करोड ४२ लाख रहेको छ ।







