हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्ने अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि सहयोग गरेको छ।
अपांगता क्षेत्रमै काम गर्दै आएको ‘अपाड्ड सरोकार केन्द्र’को समन्वयमा उनीहरूलाई बाख्रा, बंगुर तथा मौरीपालनको सामग्री वितरण गरिएको हो।
कार्यक्रम अन्तरगत उपमहानगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई मौरीको घार र २ परिवारलाई बंगुर वितरण गरेकी हुन्। सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीका अनुसार कुल ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र ४ वटा गोठ निर्माणका लागि अनुदान प्रदान गरिएको छ।
नगर प्रमुख लामाले उपमहानगरको सहयोग बिऊ पूँजीको रूपमा रहेको उल्लेख गर्दै, “बिऊ मास्ने होइन, विस्तार गर्दै लैजानेतर्फ लाग्नुपर्छ,” भन्ने सुझाव दिइन्। शारीरिक रूपमा अशक्त भए पनि घरमै बसेर आत्मनिर्भर बन्ने प्रयासमा जुटेकोमा खुसी व्यक्त गर्दै उनले उपमहानगर सधैं साथमा रहने प्रतिबद्धता जनाइन्।
दिगो आयआर्जनमा जोड दिँदै कृषि व्यवसाय सुधार गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले कुल लगानीको ५० प्रतिशत हिस्सा व्यहोरेको जनाएको छ।







