गण्डकी प्रदेशसभा बैठकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले बजेटमा असन्तुष्टि जनाउँदै वार्षिक विकास कार्यक्रम समेटिएको पुस्तिका च्यात्नुभएको छ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विकास कार्यक्रममाथि छलफलका क्रममा रोष्ट्रममा उभिएर उहाँले सार्वजनिकरूपमा पुस्तक च्यात्नुभएको हो।
म्याग्दी जिल्लामा बजेट विभाजनमा अन्याय भएको भन्दै असन्तुष्टि जनाउँदै जुग्जालीले बजेट पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो। उहाँले कटाक्ष गर्दै भन्नुभयो, “यो बजेटबाट सबैभन्दा बढी खुसी देवीदेवता भएका छन् होला।”
अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको यात्रा गराउन आग्रह गर्दै उहाँले विकास कार्यक्रमको भौगोलिक समानतामाथि प्रश्न उठाउनुभयो।
सत्तारूढ गठबन्धनकै सांसदसमेत बजेटप्रति असन्तुष्ट देखिन थालेका छन्, जसले प्रदेश सरकारभित्रको आन्तरिक असन्तोष सतहमा आएको संकेत गर्छ।







