कैलाश गाउँपालिकाले १६औं गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ५३ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा मंगलबार बसेको गाउँसभाले ‘स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग, आत्मनिर्भर र समुन्नत कैलाश निर्माण’ भन्ने मुख्य नारासहित नीति तथा कार्यक्रम अघि सारेको हो।

अध्यक्ष मुक्तानले युवालाई लक्षित गर्दै कृषि क्षेत्रमा लगानी, प्रविधि, सीप र अनुभवको प्रयोग गरिने जानकारी दिए। गाउँमा ‘एक घर एक धारा’ तथा ‘एक घर एक शौचालय’ कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाउँदै मासिक रूपमा हाट बजार सञ्चालन, कृषक परिचयपत्र वितरण तथा पशु बीमामा अनुदान कार्यक्रम सञ्चालन गरिने बताए।
समावेशी सामाजिक कार्यक्रम अन्तर्गत ‘चेली प्रोत्साहन कार्यक्रम’, ‘अध्यक्षसँग विपन्न कार्यक्रम’, ‘उपाध्यक्षसँग जनश्रमदान कार्यक्रम’, ‘किशोरकिशोरी अन्तरक्रिया’ तथा ‘जेष्ठ नागरिकसँग जनप्रतिनिधि संवाद’ जस्ता कार्यक्रमलाई निरन्तरता दिइने र थप सुदृढ गरिने नीति सार्वजनिक गरिएको छ।
स्वास्थ्य क्षेत्रमा ‘कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ’ भन्ने मूल नारासहित दीर्घ रोगी लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। साथै पूर्णखोप सुनिश्चितता, सुत्केरी तथा गर्भवती महिलाका लागि पोषण प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गर्दै कुल ५३ करोड ८६ लाख २० हजार आम्दानीको प्रक्षेपण गरिएको जानकारी दिए। आन्तरिक राजस्वबाट २ करोड ३७ लाख १ हजार ८३० संकलन हुने अनुमान गरिएको छ। संघीय र प्रदेश सरकारबाट समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपूरक अनुदान तथा सवारी साधन करलगायत विभिन्न शीर्षकमा बाँडफाँडबाट बाँकी रकम प्राप्त हुने अनुमान गरिएको छ।
बजेट विनियोजनतर्फ चालु खर्च ३२ करोड ८२ लाख ३ हजार १ सय र पूँजीगत खर्च २१ करोड ४ लाख १७ हजार रहनेछ। आर्थिक विकास क्षेत्रमा २ करोड ७७ लाख ६४ हजार, सामाजिक विकास क्षेत्रमा २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकासमा १६ करोड ४४ लाख, सुशासन तथा अन्तरसम्बन्धमा ९३ लाख १२ हजार १ सय र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख रुपैयाँ खर्च हुने बताइएको छ। प्रशासन व्यवस्थापनतर्फ मात्र ४२ करोड ८२ लाख ३ हजार १ सय विनियोजन गरिएको छ।
गाउँसभा बैठकमा आर्थिक विधेयक २०८२ पनि प्रस्तुत गरिएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक सूर्यबहादुर ब्लोनले प्रस्तुत गरेका थिए।
सभाका अवसरमा ‘चेली प्रोत्साहन कार्यक्रम’ अन्तर्गत सात जना चेलीहरूलाई नगद २० हजारसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा कमला श्रेष्ठ, सानुमाया स्याङ्तान, पार्वती सुवेदी, राधिका तितुङ, सविना मुक्तान, एलिना मुक्तान र शर्मिला मुक्तान रहेका छन्।

गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको छ।





