मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न ११औं गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
युवालाई सार्वजनिक सेवामा आकर्षण
सार्वजनिक सेवातर्फ युवाको आकर्षण बढाउने उद्देश्यसहित कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई तीन महिनाको इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट युवामा सेवा भाव र सीप विकास हुने अपेक्षा गरिएको छ।
सेवा प्रवाहमा सुधार
सेवाप्रवाह प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक सोमबार विषयगत कार्यसम्पादन र बिहीबार योजना अनुगमन गर्ने व्यवस्था लागू गरिनेछ। साथै, ई-हाजिरी प्रणाली र डिजिटल नागरिक वडापत्र मार्फत सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ।
खोलानालाको संरक्षण र करिडोर निर्माण
बकैया र निसमात खोला करिडोर निर्माणमा थप पहल गरिनेछ। साथै, चम्पाखहरे, बागमती, सकौँरा, ठाँटी, चाँदे खोला लगायत बाढी प्रभावित खोलाको संरक्षणका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ।
सरसफाइमा सक्रिय टोल विकास संस्था
हरेक वडामा एक-एक टोल विकास संस्थालाई ‘नमूना सरसफाइ संस्था’ को रूपमा पहिचान गरी पुरस्कृत गरिनेछ। यसले समुदायमा सरसफाइप्रति जिम्मेवारी बढाउने विश्वास गरिएको छ।
फोहोरमैला र ऐतिहासिक सम्पदाको संरक्षण
फोहोरमैला व्यवस्थापन स्थलको पहिचान र निर्माण कार्य अघि बढाइनेछ। साथै, स्थानीय भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षणका लागि तामाङ, घले र माझी संग्रहालय निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिनेछ।
बकैया वाङ्मय प्रतिष्ठान स्थापना
स्थानीय साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि “बकैया वाङ्मय प्रतिष्ठान” स्थापना गरिने र आवश्यक भौतिक संरचना निर्माण गरिने छ।
कृषिमा व्यावसायिकता र अनुदान
“एक वडा, एक बाली” अवधारणाअनुसार काफी, अलैची र तरकारी उत्पादन क्षेत्रको विस्तार, स्थानीय बीउ संरक्षण, र कृषकलाई ४ करोड रुपैयाँको सम्झौताअनुदान दिने योजना प्रस्तुत गरिएको छ। साथै कोल्ड स्टोर, कृषि प्रशोधन केन्द्र र TMR उद्योग स्थापना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
पूर्वाधारमा जोड
१५ स्थानमा पुल निर्माण, चम्पाखहरे खेलमैदानको आधुनिकीकरण, ५ किलोमिटर सडक विस्तार, तथा पानी आपूर्ति प्रणाली सुधार र ठूलो ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ। साथै, हरेक वडामा सिसिटिभी क्यामेरा जडान गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाइनेछ।
स्वास्थ्य र शिक्षामा सुधार
१५ शय्याको आधारभूत अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति, २४ घण्टे आकस्मिक सेवा सुधार, घरघरमा निःशुल्क रक्तसञ्चार सेवा, मानसिक स्वास्थ्यमा आत्महत्या निवारण कार्यक्रम, अपांगता भएका नागरिकका लागि करेक्टिभ सर्जरी सेवा सञ्चालन गरिनेछ।
शिक्षामा कक्षा ३ सम्म ‘ग्रेड टिचिङ’, आईसीटी एकीकरण, र सामुदायिक विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नति गरिनेछ। साथै, युवालाई लक्षित गर्दै “नमस्ते रोजगारी” अभियान, सीप तालिम, वैदेशिक रोजगार सहायता केन्द्र र स्थानीय उद्यम प्रवर्द्धन मा विशेष कार्यक्रम लागू गरिनेछ।
नीति कार्यक्रमले ग्रामीण अर्थतन्त्रमा आशा
बकैया गाउँपालिकाको नीति तथा कार्यक्रमले स्थानीय आवश्यकता, सेवा सुधार, पूर्वाधार विस्तार र युवालाई रोजगारी जस्ता विषय समेटेर ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने दिशामा महत्वपूर्ण आशा जगाएको छ।
गाउँपालिकाका धर्मराज लामिछानेले गाउँसभामा सम्बोधन गर्दै यस कार्यक्रममार्फत गाउँपालिकालाई ‘स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’को आधारमा समृद्धिको दिशामा उन्मुख गराउने लक्ष्य राखेको बताउनुभयो ।







