भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उपज प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकतामा राखिएको छ। गाउँसभामा अध्यक्ष हिदम लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रशोधन केन्द्रले समग्र गाउँपालिकाको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।
चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट प्रस्तुत गरेको गाउँपालिकाले यस पटक ९० करोड ६ लाखको बजेट ल्याएको छ ।
नीति तथा कार्यक्रममा भीमफेदीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, ऐतिहासिक भीमफेदी सहरलाई पुनर्जागृत गर्दै सांस्कृतिक सहरका रूपमा विकास गर्ने योजना समावेश छ। त्यस्तै, निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको पहल गर्दै आवश्यक सहजीकरण गर्ने उल्लेख छ।
गाउँपालिकाले रायोको साग, मुला, बन्दा, काउली जस्ता हरिया तरकारीको उचित मूल्य सुनिश्चित गर्न प्रदेश सरकारको सहयोगमा कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। साथै, पालिकाभित्र दर्ता हुने व्यावसायिक प्रतिष्ठानलाई निःशुल्क दर्ता गरिने र लगानीमैत्री वातावरण बनाउन नीतिगत तथा कानूनी सुधार गरिने जनाएको छ।





