मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १७औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँले घटाइएको बजेट प्रस्ताव पेश गरेकी हुन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाले ९७ करोड २७ लाख २८ हजार ६ सय रुपैयाँको बजेट ल्याएको थियो। यो वर्षको बजेट तुलनात्मक रूपमा कम भए पनि विकासका प्राथमिक क्षेत्रहरूमा लक्षित रहेको गाउँसभाका सभाध्यक्ष रन्जन कालाखेतीले बताए।
प्रस्तुत बजेटअनुसार, आगामी वर्षका लागि आयको मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र बाँडफाँट हुने राजस्व रहनेछ। आन्तरिक आयस्रोत र बैंक खातामा रहेको नगद मौज्दातबाट २६ करोड २ लाख ९० हजार ४६४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँट, सशर्त, समपुरक र विशेष अनुदानसहित ५२ करोड ५४ लाख ५४ हजार ५३६ रुपैयाँ, प्रदेश सरकारबाट सामानीकरण अनुदान, सवारी कर बाँडफाँट, सशर्त र विशेष अनुदानसहित ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ। यसका साथै अन्य संस्थागत स्रोतबाट १५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

व्ययको पक्षमा सबैभन्दा बढी रकम पूर्वाधार विकासतर्फ विनियोजन गरिएको छ। कुल बजेटमध्ये ३३ करोड ११ लाख ८५ हजार रुपैयाँ भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि छुट्याइएको छ। त्यसपछि सामाजिक विकासतर्फ ३० करोड ४६ लाख ९३ हजार, वित्तीय व्यवस्था, सुशासन र संस्थागत विकासतर्फ ६ करोड ४ लाख ३ हजार, आर्थिक विकासका कार्यक्रमहरूमा ४ करोड ५५ लाख ४८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ४५ लाख ६० हजार, र कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वतर्फ १२ करोड ८ लाख ५० हजार रुपैयाँ खर्च हुने उल्लेख छ।
संघीय सरकारको सशर्त, समपुरक तथा विशेष अनुदानबाट २३ करोड ८६ लाख रुपैयाँ, प्रदेश सरकारको तर्फबाट ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ र ती स्रोतहरूमा पालिकाको तर्फबाट थप ४ करोड २ लाख रुपैयाँ समेत खर्च हुने अनुमान गरिएको छ। यसबाहेक, प्रशासनिक चालु खर्च र अन्य कार्यक्रम खर्चमा ११ करोड ७३ लाख रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलापमा ९ करोड ८३ लाख २८ हजार, वडास्तरीय योजनाहरूमा ४ करोड ९० लाख रुपैयाँ र गाउँपालिका स्तरीय योजना तथा पूर्वाधार विकास योजनामा २७ करोड ९४ लाख ६७ हजार रुपैयाँ खर्च हुने विवरण बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

सभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा विस्तार, समावेशी विकास र पूर्वाधार निर्माणलाई आगामी वर्षको प्राथमिकता बनाएको स्पष्ट देखिन्छ। बजेटले विकासका कामलाई व्यावसायिक ढंगबाट अघि बढाउने तयारीसँगै, नागरिकको जीवनस्तर सुधार गर्न ध्यान केन्द्रित गरेको छ।







