मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट विवरण सार्वजनिक गरेकी हुन्।
गाउँपालिकाले कृषिलाई प्राथमिकता दिँदै “कृषकहरुलाई सम्मान, वर्गीकरण सहितको कृषक पहिचान” अभियान सुरू गर्ने बताएको छ। यसअन्तर्गत कृषकको वर्गीकरण गरी परिचयपत्र वितरण गरिनेछ। साथै कोदो, धानकोदो, जुनेलो, फापर, सिमी लगायत स्थानीय उत्पादनमा न्यूनतम समर्थन मूल्य तोकी उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।
विद्यालय तहमा “पढ्दै, कमाउँदै” कार्यक्रमलाई निरन्तरता दिइने छ भने ‘एक वडा, एक उत्पादन’ अभियानलाई अझ प्रभावकारी बनाइने योजना रहेको छ। बाझो जमिनको उपयोग गरी कृषकलाई प्रोत्साहन दिने कार्यक्रम पनि अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रलाई समावेशी बनाउन बजेट विनियोजन गरिएको छ। मातृ–शिशु स्वास्थ्यमा निःशुल्क प्रसवपूर्व जाँच, जटिलता युक्त गर्भको पहिचान तथा अपाङ्गता न्यूनीकरणका लागि नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड सेवा ८ वटै वडामा मासिक घुम्ती सेवा स्वरूप विस्तार गरिनेछ। आमभञ्ज्याङ्ग र मकवानपुरगढी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुदृढ पारिनेछ भने सुकौरा र बुढीचौरमा पनि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिनेछ।
सामाजिक सुरक्षा भत्ता प्रणालीमा सुधार गर्दै आगामी वर्षदेखि लाभग्राहीले वडा तहबाटै भत्ता पाउने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ।
बजेट विवरण अनुसार, चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार र पूँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट स्रोततर्फ संघीय सरकारबाट ४३ करोड ६१ लाख, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ संकलन हुने लक्ष्य लिइएको छ।
क्षेत्रगत विनियोजनतर्फ गाउँपालिकाले सामाजिक विकासमा सबैभन्दा बढी ३८ करोड ६६ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यसपछि पूर्वाधार विकासमा १८ करोड ६० लाख, आर्थिक विकासमा ५ करोड ४५ लाख, कार्यालय सञ्चालनमा ९ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ८१ लाख ३५ हजार, तथा संस्थागत सेवा विकासमा १ करोड ३ लाख रुपैयाँ छुट्याइएको छ।







