निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरू पूर्ति गर्न उपनिर्वाचनको तयारी थालेको छ। आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई यथाशीघ्र नाम दर्ता गराउन आग्रह गरेको छ।

आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नाम दर्ता गर्न नपाइने भएकाले चाँडो नाम दर्ता गराउन आवश्यक रहेको बताएका छन्।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूबीच उपनिर्वाचनको मिति तोक्ने विषयमा छलफल भएको थियो।
छलफलमा प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा अन्तर्गत मनाङ क्षेत्र नम्बर १ (ख) मा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने विषयमा परामर्श भएको थियो।
रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि सीट रिक्त भएको हो। त्यस्तै, मनाङ १ (ख) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि सो पद रिक्त भएको छ।
त्यसैगरी, स्थानीय तहका एक दर्जनभन्दा बढी वडाध्यक्षका पद समेत रिक्त छन्।







