हेटौंडा/नेकपा एमाले मकवानपुरले विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन ६५ सदस्यीय जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली गठन गर्ने निर्णय गरेको छ।
पार्टी जिल्ला कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग र जनसंगठन समन्वय संयन्त्रको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

बैठकको अध्यक्षता जिल्ला विपद् व्यवस्थापन विभाग प्रमुख शिवहरि दाहालले गरेका थिए भने प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना थिए। बैठकमा पार्टी सचिव सिता विष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेल, उपप्रमुख मिलन पाठक, जिल्ला सदस्यहरू पञ्चमाया स्याङ्तान, आकाश अधिकारी लगायतको उपस्थिति थियो।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पनि पालिकास्तरीय विपद् प्रतिकार्य टोली गठन गर्ने योजना बनाएको छ। विभाग प्रमुख दाहालका अनुसार टोलीले सम्भावित विपद् पूर्वानुमान गर्दै पूर्वतयारी तथा आपत्कालीन अवस्थामा प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा समन्वयात्मक कार्य गर्नेछ। टोलीलाई तालिम प्रदान गर्ने तयारी समेत गरिएको छ।
“गाउँमै विपद् प्रतिकार्य टोली तयार पार्दा प्रभावित क्षेत्रमा तत्काल पुग्न सकिने भएकाले सबै पालिकामा यस्ता टोली निर्माण गरिँदैछ,” प्रमुख दाहालले बताए। “नागरिकको सुरक्षामा एमाले मकवानपुर संवेदनशील भएर अघि बढेको छ,” उनले थपे।
बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज रानाले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको सन्दर्भमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरणमा पार्टीलाई परिचालित गर्न रणनीति बनाइएको जानकारी दिए। बैठकमा बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले अतिथिका रूपमा सहभागी थिइन्।
सो बैठकमा विपद् व्यवस्थापन विभागका सचिव सुरेश बेरोजगार, वन तथा वातावरण विभागका सचिव कृष्ण बिडारी, स्वास्थ्य विभागका सचिव उमेश अधिकारी र जनसंगठन समन्वय संयन्त्रका उपप्रमुख मिलन पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए।





