२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ को अवसरमा बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले सम्पूर्ण कृषक, कृषि विज्ञ, नीति निर्माता, सञ्चारकर्मी र सरोकारवालाहरूप्रति शुभकामना व्यक्त गरेका छन्।
“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित मनाइँदै गरेको यस दिवसमा मन्त्री श्रेष्ठले ‘कृषि रूपान्तरणको आधार : प्रविधि र पूर्वाधार’ भन्ने नाराका साथ कृषिमा प्रविधिको उपयोग र पूर्वाधार विस्तारमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले हालै सार्वजनिक तथ्याङ्कको हवाला दिँदै चालु वर्षमा १४ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भई ५९.५५ लाख मेट्रिक टन उत्पादन भएको जानकारी दिए। औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको र यो अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई कृषकको मेहनत र प्रविधिको योगदानको प्रतिफलका रूपमा व्याख्या गरे।
यद्यपि, देशले अझै पनि वार्षिक झण्डै १० लाख मेट्रिक टन धान आयात गरिरहनु परिरहेको अवस्थाले आत्मनिर्भरताको लक्ष्य हासिल गर्न थप प्रयास र समन्वय आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले आगामी दुई वर्षभित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारको स्पष्ट योजना रहेको जानकारी दिँदै त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्यसँगै अनुसन्धान संस्था, निजी क्षेत्र र कृषक समुदायको सक्रिय सहभागिता अपरिहार्य हुने बताए।
शुभकामना सन्देशमार्फत मन्त्री श्रेष्ठले धान बालीको वैज्ञानिक प्रवर्द्धन, जलवायु अनुकूल प्रविधिको प्रयोग, कृषकको जीवनस्तर उकास्ने पहल र दीर्घकालीन खाद्य सुरक्षाका लागि सबै पक्षलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।









