पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको एघारौं गाउँसभामा उपाध्यक्ष भक्ता बहादुर खत्रीले बजेट प्रस्तुत गर्नुभएको हो।
गत वर्षको तुलनामा यस वर्षको बजेट १ करोड ८७ लाख ४९ हजारले कम हो। चालु आवमा पालिकाले ९३ करोड ५९ लाख ९९ हजारको बजेट ल्याएको थियो।
यस वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिइएको छ। आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटमध्ये पूँजीगततर्फ २८ करोड ६ लाख ९१ हजार र चालु खर्चतर्फ ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानसहित कुल ३९ करोड ६३ लाख ५० हजार रुपैयाँ खर्च गर्ने योजना छ।
बजेटमा पूर्वाधार निर्माणका लागि ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणाका लागि ७५ लाख, चिस्याकेन्द्र निर्माणका लागि ६५ लाख, प्रत्येक वडामा समानुपातिक विकासका लागि ४ करोड ८० लाख, कार्यपालिका सदस्यका लागि ४८ लाख विनियोजन गरिएको छ।
त्यस्तै, कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, त्यसको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, र कोल्ड स्टोर निर्माणका लागि १ करोड ३० लाख बजेट छुट्याइएको छ।
गाउँसभामा उत्कृष्ट कर्मचारी तथा संस्थालाई सम्मान
बकैया गाउँपालिकाको एघारौं गाउँसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, उपभोक्ता समिति, संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ।
उत्कृष्ट उपभोक्ता समिति तर्फ बकैया–१ को कत्लेखोला कल्भट निर्माण समिति, निर्माण व्यवसायी तर्फ बी एण्ड बी कन्स्ट्रक्सन, करदातामा कुमार रोशन सिचुवान जेभी, गैरसरकारी संस्था तर्फ इथर बेन्जामिन संस्था, र रोजगारदातातर्फ शिवपुरी फ्रेस डेरीलाई सम्मान गरिएको छ।
त्यस्तै, कर्मचारीतर्फ जुइना आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी शान्ति पाख्रिन, हात्तिसुडे स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चन्द्र बहादुर भ्लोन, र वडा ११ का कार्यालय सहयोगी शेरमान गोलेलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको छ।
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने शिक्षक, विद्यार्थी र विद्यालय प्रतिनिधिहरूलाई पनि नगदसहित सम्मान गरिएको छ। यस्तै, विभिन्न सेवा क्षेत्रमा योगदान गर्ने व्यक्तिहरू र सर्वोत्कृष्ट कर्मचारी सहायक प्रहरी निरीक्षक प्रमोद थापालाई नगद १० हजारसहित सम्मान गरिएको हो।
कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्ता बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायत वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो।







