हेटौंडा–२ स्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कूलले कक्षा १० को एसईई परीक्षा २०८१ मा ४.० जिपिए प्राप्त गरेकी छात्रा अनुप्रस्था देवकोटालाई सम्मान गरेको छ।

विद्यालयले आज एक कार्यक्रम आयोजना गरी देवकोटालाई नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो। सो अवसरमा विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, सह–प्रिन्सिपल अमूल श्रेष्ठ र विज्ञान शिक्षक प्रेम हमालले व्यक्तिगत रूपमा १५–१५ हजार रुपैयाँका दरले थप ४५ हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरेका थिए।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनालगायतले एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य विद्यार्थीहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।
विद्यालयले यस वर्षको एसईई परीक्षामा सतप्रतिशत सफलता हासिल गरेको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीहरूको सहभागितामा बाजागाजासहित नगर परिक्रमा समेत आयोजना गरिएको थियो।








