मकवानपुरगढी गाउँपालिका–५ मा रहेको श्री शारदा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ १०० प्रतिशत नतिजा ल्याउन सफल भएपछि सो विद्यालयका विद्यार्थीलाई हेटौँडा स्कुल अफ म्यानेजमेन्टले नगद प्रोत्साहन प्रदान गर्ने भएको छ।
विद्यालयको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गर्न आज मकवानपुरगढी–५, धादिङमा आयोजित कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरणबहादुर जोशीले उत्कृष्ट प्रदर्शन गर्ने २५ जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगद प्रदान गर्ने घोषणा गर्नुभयो।
विद्यालयका अनुसार यस वर्ष SEE मा GPA ३.६ माथि १ जना, GPA ३.२ देखि ३.६ सम्म ७ जना, GPA २.८ देखि ३.२ सम्म १३ जना र GPA २.४ देखि २.८ सम्म ४ जना गरी कुल २५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले यसपटक १०० प्रतिशत सफलता हात पारेको छ।
सञ्चालक जोशीले प्रोत्साहन स्वरूप प्रदान गरिने नगदले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।








