हेटौंडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई यस वर्षदेखि नि:शुल्क अध्यापन गराउने भएको छ।
शिक्षाको पहुँच बढाउने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित वडा नं. १६ कार्यालयले उक्त व्यवस्था गरेको हो। वडाअध्यक्ष तथा उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक रामकृष्ण कोइरालाका अनुसार नमूना विद्यालयको रूपमा जनप्रिय माविलाई विकसित गर्दै स्थानीय तहबाटै वैज्ञानिक सोच राख्ने नयाँ पुस्ता तयार पार्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ।
उनले विज्ञान तथा गणित विषयमा देशभर जनशक्तिको अभाव रहेको उल्लेख गर्दै जनप्रियको यो पहलले उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे। आर्थिक अभावका कारण विज्ञान संकायमा अध्ययन गर्न नसक्ने विद्यार्थीलाई समेत लक्षित गर्दै ल्याइएको यो कार्यक्रमप्रति सरोकारवाला निकायले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
साथै, विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई वडा कार्यालयले मासिक शुल्क बराबरको छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ। यो कार्यक्रमले विद्यार्थीहरूको हौसला बढाउने र शैक्षिक स्तर उकास्न टेवा पुर्याउने विश्वास लिइएको अध्यक्ष कोइरालाले बताए ।








