हेटौँडा उपमहानगरपालिका–४ मा अवस्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत पठनपाठन निःशुल्क रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
शिक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले विद्यालयले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा यस्तो पहल थालेको हो। पछिल्ला वर्षहरूमा दक्ष शिक्षकको अभाव गहिरिंदै गएको अवस्था दृष्टिगत गर्दै निःशुल्क अध्ययनको सुविधा उपलब्ध गराउने निर्णय लिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार, शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषयहरू समावेश हुनेछन्। साथै, विद्यार्थीहरूलाई व्यवहारिक शिक्षण अभ्यासको समेत व्यवस्था गरिनेछ, जसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै शिक्षण कार्यमा प्रयोगात्मक सीप विकासमा मद्दत पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।








