हेटौंडा/ नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको आयोजनामा बिपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला बिपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, जिल्ला सचिव सीता बिष्ट, जिल्ला जनसंगठन संयन्त्र प्रमुख सन्तोष पौडेल, बन तथा वातावरण विभाग प्रमुख पंचमाया स्याङ्तान, स्वास्थ्य विभाग प्रमुख उत्सव चौलागाईंले मन्तव्य व्यक्त गरेका थिए।
प्राकृतिक प्रकोप तथा अन्य बिपद्का बेलामा उद्धार, राहत तथा पुनःस्थापनामा स्वयंसेवकीय भूमिका निर्वाह गर्ने उद्देश्यले जिल्लास्तरमा ६५ सदस्यीय स्वयंसेवक टोली तयार गरिएको प्रमुख दाहालले जानकारी दिए। उक्त टोलीलाई विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका प्रतिनिधिहरू समावेश गरेर तालिम प्रदान गरिएको थियो।
बाढी, पहिरो, डुवान, आगलागी, हुरीबतास लगायतका बिपद्मा स्थानीय प्रशासन तथा सरकारसँग समन्वय गरेर स्वयंसेवक परिचालन गरिने प्रमुख दाहालले बताए। तालिम सहजीकरण पिताम्बर बास्तोला, लक्ष्मण भट्टराई र रामजी खतिवडाले गरेका थिए।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी, विभिन्न विभाग र जनसंगठनका प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विभागका सचिव सुरेश बेरोजगारले गरेका थिए।







