मकवानपुर/ मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले कृषिमा आउने जोखिम न्यूनिकरण गर्ने उद्देश्यसहित बाली बिमा कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। बुधवार गाउँपालिकाको वडा नम्बर ७ बाट कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा आयोजित कार्यक्रममा धान बालीबाट बिमा कार्यक्रम सुरु गरिएको घोषणा गरियो। अध्यक्ष कालाखेतीका अनुसार यो कार्यक्रमलाई आगामी दिनमा अन्य अन्नबाली र तरकारी बालीमा पनि विस्तार गर्ने योजना छ। “कृषिमा लगानीको जोखिम कम गर्दै उत्पादन वृद्धि गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो, “किसानलाई यो कार्यक्रमले आर्थिक राहत दिनेछ।”
उपाध्यक्ष पुलामी मगरले कीरा, रोग र प्राकृतिक प्रकोपका कारण किसानले भोग्नुपरेको क्षति कम गर्न बिमा कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो। “अब किसानले बालीमा क्षति बेहोर्नुपरे पनि बिमा मार्फत राहत पाउनेछन्,” उहाँको भनाइ छ।
गाउँपालिकाले सुरुवात वडा नम्बर ७ बाट गरे पनि क्रमशः अन्य वडामा पनि विस्तार गर्ने तयारी गरेको छ। बिमा प्रक्रियालाई सरल बनाउन वडा कार्यालयहरूमै आवेदन दिने व्यवस्था मिलाइएको छ, जसले किसानलाई बिमा कम्पनीसम्म धाउनुपर्ने झन्झटबाट छुट दिनेछ।
शिखर इन्स्युरेन्ससँग सहकार्यमा सञ्चालन हुने बिमा कार्यक्रममा किसानले कुल बिमा रकमको २० प्रतिशत मात्र तिर्नुपर्नेछ भने बाँकी ८० प्रतिशत अनुदान संघीय सरकारले उपलब्ध गराउनेछ। विपन्न किसानका हकमा भने गाउँपालिकाले त्यो २० प्रतिशत रकम समेत व्यहोर्ने निर्णय गरेको छ।
खेतबारीमा विभिन्न कारणले हुने क्षतिबाट किसानलाई आर्थिक सुरक्षा दिन बाली बिमा महत्वपूर्ण हुने जनाइएको छ। नेपालमा २०६९ साल माघ १ गतेदेखि औपचारिक रूपमा सुरु भएको बाली बिमा कार्यक्रम हाल देशका विभिन्न भागमा विस्तार भइरहेको छ।







