हेटौंडा/बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे हेटौंडामा बस्दैछ।
गत शुक्रबार दलका २१ सांसदले संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध हस्ताक्षर बुझाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक बोलाइएको हो।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये २१ जना सांसद लामाको विपक्षमा उभिएका छन् भने १६ सांसद उनको पक्षमा छन्। स्पष्ट बहुमत विपक्षमा उभिएपछि लामाको नेतृत्व संकटमा परेको देखिन्छ।
दलभित्रको असमझदारी समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सांसद राजन केसीलाई सहजीकरणका लागि खटाएका छन्। केसी आइतबार नै हेटौंडा पुगेर दुबै पक्षसँग छलफल गरिरहेका छन्।
यसअघि शुक्रबार कांग्रेसका चार मन्त्रीले असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए। तर, मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा स्वीकृत नगरी उनीहरूलाई केही घण्टामै बर्खास्त गरेका थिए। त्यसपछि दलभित्रको विवाद थप चुलिएको हो।
यसैबीच, संसदीय दल नेताको पुनः प्रतिस्पर्धाको चर्चा समेत सुरु भएको छ। वर्तमान दल नेता बहादुर सिंह लामा र पूर्वउम्मेदवार सांसद इन्द्रबहादुर बानियाँबीच पुनः प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। २०७९ पुस १३ गते भएको निर्वाचनमा लामाले बानियाँलाई ५ मतको झिनो अन्तरले हराएका थिए। त्यसबेला लामा पक्षमा २१ र बानियाँ पक्षमा १६ मत थिए। तर, अहिले समर्थनको समीकरण उल्टिएको संकेत देखिएको छ।
आफ्नो पद जोगाउने कसरतमा रहेका लामा काठमाडौंबाट हेटौंडातर्फ प्रस्थान गरिसकेका छन्।







