बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) ले नेपाली कांग्रेसको संस्थागत निर्णयलाई सम्मान गर्ने औपचारिक धारणा सार्वजनिक गरेको छ। कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा पराजित भए पनि उनले राजीनामा नदिने अडान लिएका बेला एमालेको यस्तो निर्णय आएको हो।
मुख्यमन्त्री लामाले आफू गठबन्धनको तर्फबाट चयन भएको भन्दै संसदीय दलको नेता नभएको आधारमा राजीनामा आवश्यक नरहेको जिकिर गरेका छन्। उनले दुई वर्षसम्म सरकार परिवर्तन गर्न नपाइने संवैधानिक व्यवस्था रहेको दाबीसमेत गर्दै पद नछाड्ने बताएका छन्।
यही राजनीतिक अवस्थालाई मध्यनजर गर्दै एमाले बागमती प्रदेश संसदीय दलले स्थायित्व, सहकार्य र जनमुखी शासन प्रणालीलाई प्राथमिकता दिने स्पष्ट नीति सार्वजनिक गरेको हो। एमालेले कांग्रेसभित्रको नेतृत्व परिवर्तन र आन्तरिक असहमतिको विषयलाई सो पार्टीको आन्तरिक प्रक्रिया भएको स्पष्ट पार्दै त्यसमा आफूहरूको प्रत्यक्ष संलग्नता नरहेको जनाएको छ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, ‘संसदीय दलको नेता परिवर्तन कांग्रेसकै आन्तरिक विषय हो। त्यसमा हाम्रो प्रत्यक्ष चासो छैन। तर कांग्रेसले आफ्नो समस्या छिटो समाधान गरेर सरकारलाई नयाँ कोर्समा अघि बढाउने अपेक्षा भने राखेका छौं।’
एमालेले पार्टी केन्द्रको निर्णयअनुसार प्रदेशमा सहकार्यको ढोका खुला राख्ने स्पष्ट पारेको छ। सरकार गठनको विषयमा कांग्रेसको आग्रह आएमा एमालेले राजनीतिक र वैचारिक आधारमा मात्रै निर्णय लिने उल्लेख गरेको छ।
एमालेको निर्णयमा भनिएको छ, ‘व्यक्तिगत वा गुटगत स्वार्थमा आधारित सत्ता खेलमा हामी सहभागी हुँदैनौं। प्रदेशमा स्थायित्व, सुशासन र लोकतान्त्रिक अभ्यासका लागि संवाद र सहकार्यका सबै सम्भावना खुला छन्।’





