नेपाली कांग्रेसका बागमती प्रदेशका १४ जना सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हालैको नेतृत्व परिवर्तनप्रति असन्तुष्टि जनाउने तयारी गरेका छन्।
उनीहरूका अनुसार पार्टी सभापतिकै रोहबरमा दलको नेतामा हस्ताक्षर संकलन गरिँदा प्रदेशमा अस्थिरता निम्तिएको छ। नेताहरुले सभापतिलाई दलको नेताको हेरफेर किन आवश्यक पर्यो भन्ने स्पष्ट माग गर्ने तयारी गरेका छन्।
एक सांसदका अनुसार, “पार्टी नेतृत्वले दिएको असंवैधानिक दबाबका कारण आउने परिणामप्रति हामी गम्भीर छौं। इन्द्रबहादुर बानियाँले चैतदेखि नै मुख्य सचिव र सचिवहरूलाई निर्णय नगर्न दबाब दिएका थिए, आफू मुख्यमन्त्री बन्छु भनेर। बजेट ल्याउन रोक्ने प्रयास पनि गर्नुभयो। त्यसैगरी इभी गाडीको अस्वीकृत मापदण्डलाई समर्थन गर्न तयार भएको भन्ने चर्चा पनि छ।”
उनीहरूले सभापति देउवालाई भेटेरै पार्टीलाई भ्रष्टाचारमा जोड्न सक्ने निर्णय रोक्न आग्रह गर्ने बताएका छन्। साथै, वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा सुरु भएका योजनाहरूको निरन्तरतासहित केही सर्तहरू राख्दै लामाले सहमति भएमा राजीनामा दिन तयार रहेको पनि बताएका छन्।
सांसदहरूका अनुसार, गत वर्ष साउन ८ मा कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय भएसँगै इन्द्र बानियाँले त्यसमा अवरोध गरेको र त्यसबापत केन्द्रीय नेतृत्वले कुनै चेतावनी नदिई उल्टै एक वर्षको कार्यकाल बाँडफाँड गर्ने अस्थायी सहमति गराएको उनीहरूको गुनासो छ। आरजु राणा देउवाको पहलमा लिखित सहमति गराइएको पनि उल्लेख गरिएको छ।
उनीहरूले सभापति देउवालाई यसरी संसदीय दलको नेतामा दबाबपूर्वक हस्ताक्षर गराउने अभ्यास अनुचित भएको भन्दै अब केन्द्रमा पनि त्यसैगरी सहमति बाँडफाँड गर्ने हो कि होइन भन्ने प्रश्न उठाउन लागेका छन्।
सांसदहरूको भनाइमा बानियाँले अहिले पनि सोही सहमति देखाएर सरकारलाई असहयोग गरिरहेका छन् र संसदीय दलमा अराजकता मच्चाएर नेतृत्व कब्जा गरेका छन्।







