मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित नेकपा (समाजवादी) पार्टीको सम्पूर्ण पालिका कमिटी अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेको छ।
एमाले केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन्। प्रवेश कार्यक्रममा इन्द्रसरोवर समाजवादी कमिटीका उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरू जगत बहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल डिम्डुङ, साथै पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मरठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल एमालेमा प्रवेश गरेका हुन्।

उनीहरूलाई एमाले महासचिव पोखरेलसँगै बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, एमाले मुख्य सचेतक महेश बर्तौला लगायत नेताहरूले पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश समारोहमा बोल्दै महासचिव पोखरेलले “आफ्नो घर फर्किनुभएकोमा स्वागत छ” भन्दै, क्षमता अनुसारको जिम्मेवारी दिइने र आजैदेखि पार्टी काममा लाग्न निर्देशन दिएका छन्।








