नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बेलुका आफ्नो निवासमा बोलाएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा दिन निर्देशन दिएका थिए। निर्देशनपछि राजीनामाको मनस्थिति बनाएका मुख्यमन्त्री लामाले अहिलेसम्म पद त्याग गरेका छैनन्।
आज राजीनामा दिने तयारी भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा उपचाररत भएकाले प्रक्रिया रोकिएको सांसद रामकृष्ण चित्रकारले बताएका छन्। प्रदेश प्रमुखको उपस्थितिमा राजीनामा बुझाउनुपर्ने संवैधानिक व्यवस्थाका कारण लामाको राजीनामा आइतबारसम्म स्थगित भएको हो।
मुख्यमन्त्री लामा आइतबार हेटौंडा फर्किएपछि मन्त्रिपरिषद बैठक बसाल्ने र पत्रकार सम्मेलन गरेर प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारीमा रहेको बताइएको छ।
८ महिना मात्रै नेतृत्व गर्ने बानियाँ
लामाले पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार स्वतः विघटन हुनेछ। त्यसपछि कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन्।
बागमतीमा कांग्रेस र एमालेबीच २०/२० महिनाको कार्यकाल बाँडफाँटको सहमति अनुसार, १२ महिना लामाले नेतृत्व गरिसकेकाले अब बाँकी ८ महिना बानियाँले सरकारको नेतृत्व गर्नेछन्। बानियाँ मुख्यमन्त्री बनेपछि नयाँ मन्त्रिपरिषद् गठन प्रक्रिया पनि सुरु हुनेछ।







