हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आज पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग १४ साउनमा भएको निर्वाचनमा पराजित भएपछि लामामाथि राजीनाको दबाब बढेको थियो।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग लामासहित बानियाँको संयुक्त छलफलपछि राजीनामा दिने सहमति जुटेको हो। छलफलमा सहभागी कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, लामा पक्षका तीन मन्त्रीलाई सपथ गराउने र सत्ता साझेदारीमा एमालेसँग सहमतिअनुसार सरकार सञ्चालन गर्ने दुई बुँदे समझदारीपछि लामा मार्गप्रशस्त गर्न तयार भएका हुन्।
मुख्यमन्त्री लामाले १४ साउनमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरूको सपथ बुधबार तय भए पनि एमालेको असहमतिका कारण रोकिएको थियो। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक बिरामी परेपछि सपथ फेरि स्थगित भएको थियो।
चित्रकारका अनुसार, आइतबार प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएमा लामाले उनलाई राजीनामा बुझाउनेछन्, अन्यथा मुख्यमन्त्री कार्यालयमा नै राजीनामा दर्ता गरिनेछ।
लामाको राजीनापछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। एमालेसँग एक वर्षअघि भएको सत्ता सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि सत्ता नेतृत्व एमालेलाई हस्तान्तरण गरिने बताइएको छ।







